जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार ०८:३०

राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीको लस्कर पुगेपछि बारेकोटबासी आक्रोशित


जाजरकोट , २२ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुग्नुभयो । सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुग्नुभएको हो ।

अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुग्नुभएको राष्ट्रपति पौडेलले जनता जनधनको क्षति प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताउनुभयो ।

राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले हाती आयो , हाती आयो सुस्सा भनेझैँ भएको बताउनुभएको छ । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ , हाम्रो भरोसा मान्नुहोस भन्दै आश्वासनको पोको सुनाएर फेरि राष्ट्रपति पौडेल काठमाडौँ हुइँकिनुभया ।

त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गर्नुभएको थियो । उहाँले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जाजरकोट अस्पतालमा बिरामी भेटन जानुभएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका १ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गर्नुभएको थियो । उहाँले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गर्नुभएको थियो ।

भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउदै राष्ट्रपतिसँग गुनासो गर्नुभयो । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझन नसकेको उहाँले राष्ट्रपतिलाई सुनाउनुभयो ।

राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त पर्नुभयो । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत हुनुहुन्छ । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाइएको थियो ।

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हाल सम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताउनुभयो । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस बारेकोट पठाएको उहाँले बताउनुभयो । त्यस्तै हिजो देखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्ला स्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार हुनुहुन्न ।

राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला , स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहनुभएको छ ।

उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहनुभएको छ । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहनुभएको छ । मन्त्रीदेखि राष्ट्रपति सम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडित सम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिनुभएको छ । घर्तीले लेखेका छन् , ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर । सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितिको अधिकार मिच्न नखोज । ’ उहाँले थप लेख्नुभएको छ , भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।