जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १०:१९

कोशीमा जलसतह बढ्दै, बाढी जोखिमसँगै ब्यारेजका ढोका खोल्ने तयारी 


काठमाडौं, साउन ३ । देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमानसँगै कोशी नदीमा पानीको सतह बढ्न थालेपछि कोशी ब्यारेजका ढोका क्रमिक रूपमा खोल्ने तयारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षाका कारण नदीहरूमा जलप्रवाह बढ्ने सम्भावना रहेको जनाएको छ। यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी नदीमा बाढीको जोखिम बढेमा आज कोशी ब्यारेजका ढोका आवश्यकताअनुसार क्रमशः खोलिने जनाएको हो।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा पानीको बहाव बढेर बाढीको जोखिमपूर्ण अवस्था सिर्जना भएमा ब्यारेजका ढोका खोलिनेछ। उहाँले जल तथा मौसम विज्ञान विभागले नदीको जलप्रवाहको निरन्तर निगरानी गरिरहेको जानकारी दिनुभयो।

प्राधिकरणका अनुसार हाल देशका २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ। सम्भावित विपद्को सामना गर्न सुरक्षा निकायसँग समन्वय गरी उद्धार, खोज तथा प्रतिकार्यका लागि आवश्यक तयारीसमेत अघि बढाइएको जनाइएको छ।

यसैबीच, प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार, डुबान तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

साथै, सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा चेतावनीको पालना गर्न प्राधिकरणले अपिल गरेको छ।