काठमाडौं, साउन ३ । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गमा खसेको पहिरो र लेदो हटाइएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा खसेको सुख्खा पहिरो पन्छाएसँगै राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
शुक्रबार रातिको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सम्बन्धित निकायले सडक सफा गरी यातायात सञ्चालनयोग्य बनाएपछि दुवैतर्फ रोकिएका सवारीसाधनहरू क्रमशः आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।
राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोट क्षेत्रमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेपलाञ्चोकको भकुण्डे क्षेत्रमा रोक्नुपरेको थियो।
प्रहरीले वर्षायामका कारण पहिरो र लेदो खस्ने जोखिम अझै कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ। मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नरोकिन पनि प्रहरीले अनुरोध गरेको छ।
यसैबीच, गत वर्ष रोशी खोलाको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको सडकखण्डमा मर्मत तथा पुनर्निर्माणको काम अझै जारी रहेको छ। केही स्थानमा वैकल्पिक ट्र्याक निर्माण गरी सवारी सञ्चालन भइरहेको छ भने हाल रोशी खोलामा आएको सामान्य बाढीले यातायात सञ्चालनमा कुनै असर नपारेको सम्बन्धित निकायले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्