काठमाडौं, भदौ ३० । आफैले आफैलाई भ्रष्टाचारबिरोधी अभियन्ता घोषणा गरी प्रधानमन्त्री–मन्त्रीदेखि सत्तारुढ दलका नेतामाथि गालीगलौजमा उत्रिएका ज्ञानेन्द्र शाहीको हर्कतले सीमा नाघेपछि प्रतिकार सुरु भएको छ । सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीको प्रतिकार सुरु गरेको हो ।
सो संगठनले कास्की र धनुषामा जिल्ला प्रवेशमै निषेध गरेर प्रतिकार अभियान सुरु गरेको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान मात्रै गणतन्त्रबिरोधी अराजक समुहको गतिबिधिले सीमा नाघेको भन्दै प्रतिवाद गर्न युवा–बिद्यार्थीलाई निर्देशन दिनुभएको थियो । अध्यक्ष प्रचण्डको निर्देशन आएको एक घन्टामै युवा संघ कास्कीले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको थियो । अर्काे जिल्ला धनुषाले पनि गणतन्त्रबिरोधी अराजकताका नाइके शाहीलाई जिल्ला प्रवेश निषेध गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कास्की र धनुषाले आज विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई जिल्लामा आउन प्रतिबन्ध लगाएको घोषणा गरेको हो । ‘हजारौं जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकविरूद्ध अभियान चलाउने ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) लाई धनुषामा प्रवेश निषेध गरिएको छ,’ राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख भनिएको छ । कास्कीले पनि यस्तै ब्यहोराको बिज्ञप्ती जारी गरेको हो ।
दुवै जिल्लाका युवा संघले भदौ २८ गते नेपालगञ्ज एयरपोर्टमा पर्यटनमन्त्री तथा नेकपाका नेता योगेश भट्टराईमाथि भएको दुर्ब्यवहारको निन्दा गर्दै आपत्ति जनाएको छ । जनतालाई भड्काउने र कुनै प्रकारको प्रचारबाची गरे संघले कडा प्रतिकार गर्ने चेतावनी पनि दिइएको छ । यसअघि कास्कीको राष्ट्रिय युवा संघले विज्ञप्ति जारी गरी ‘गलत अभियान’मा लागेको भन्दै शाहीलाई कास्की जिल्लामा प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।
‘सामाजिक सञ्जालहरूको दुरूपयोग गरी समाजमा भ्रम श्रृजना गर्ने, द्वन्द्व सिर्जना गर्न उकास्ने, पछिल्ला उपलब्धि र परिवर्तनको विरोधी तत्वहरू प्रायोजित तथा सञ्चालित छन,’ युवा संघको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आमजनसमुदायलाई विधिको शासन पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा उभिएर सहयोग गरिदिनु हुन अपिल गर्छौं।’
प्रतिगामी तत्वहरूको विरूद्ध आवश्यकता अनुसार प्रतिरोधी कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि युवा संघले दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध लागेका शाहीले सत्तारुढ दलका नेताहरुबिरुद्ध मुखमा जे आयो त्यही बोल्दै हिडने गरेपछि युवासंघ प्रतिवादमा उत्रिएको हो । संघका संयोजक रामप्रसाद सापकोटा, दिपशिखा र सहसंयोजक रमेश पौडेलले यसअिघ नै ज्ञानेन्द्र शाहीले हर्कत नसच्याए देशब्यापी प्रतिकारमा उत्रने चेतावनी दिइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्