जनता टाइम्स

२४ मंसिर २०८०, आईतवार १३:०९

बिभाजनको डिलमा लोसपा, अध्यक्ष ठाकुरमाथि गम्भीर आरोपसहित राजेन्द्र महतोले गरे केन्द्रीय समिति बैठक बहिष्कार


काठमाडौं, मंसिर २४ । सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा गम्भीर बिवाद देखिएको छ । अध्यक्ष महन्थ ठाकुरपछिका दोस्रो बरियताका नेता राजेन्द्र महतोले केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेसँगै लोसपाको बिवाद छताछुल्ल भएको हो ।

अध्यक्ष ठाकुरले महतोको अनुपस्थितिमै बैठक बोलाउनु भएको छ । यता महतोले सो बैठकमा नजाने घोषणा गर्नुभएको छ । केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायत एजेण्डामा छलफल गर्ने कार्यसूची छ । तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताउनु भएको हो ।

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुराना नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने अडान राख्दै आउनु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने वचन दिए पनि अहिलेसम्म पूरा नगरेको भन्दै महतो असन्तुष्ट हुनुहुन्छ ।

लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति रहेको छ । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, ६ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् । यो कमिटी विस्तारपछि आज पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।