जनता टाइम्स

४ माघ २०८०, बिहीबार १३:५६

यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार


ताप्लेजुङ, ४ माघ । नेपाली बजारमा यस वर्षकै उच्च मूल्यमा कारोबार भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा अलैँची प्रतिमन अर्थात ४० किलोग्राम ७७ हजार रुपियाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।

केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएकोमा अहिले उच्च मूल्यमा कारोबार भएको हो । अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको छ ।

अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् । अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार÷पाँच वर्षयताकै राम्रो हो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् ।