जनता टाइम्स

१२ असार २०८२, बिहीबार १८:२९

माधव नेपालको मुद्दाको बहश र आदेशले वकिलहरुबीच नै मच्चियो खैलावैला


काठमाडौं, असार १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भ्रष्टाचार मुद्दाको आदेशमा बहशमै सहभागी नभएका ब्यक्तिको समेत नाम आएपछि वकिलहरुमै खैलावैला सुरु भएको छ ।

नेपाल बुधबार विशेष अदालतमा हाजिर भएपछि दुवै पक्षका कानुन व्यवसायीको बहस भएको र आदेशमा बहशमा सहभागी नभएको ब्यक्तिको नाम आएपछि वकिलहरु सार्वजनिक रुपमै टिकाटिप्पणीमा समेत उत्रिएका छन ।

नेपालको मुद्दामा सरकारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित विशेष सरकारी वकिलका सहन्यायाधिवक्ता मोहनसागर बस्याल, अख्तियारका ज्ञानप्रसाद भुसाल, उमाकान्त पौडेल र उपन्यायाधिवक्ता भगवती गौतमले अख्तियारको तर्फबाट बहस गर्नुभएको थियो । यस्तै पूर्वप्रधानमन्त्री नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहशको सुरुवात गर्नुभएको थियो ।

थापापछि गोविन्द बन्दी, खम्मबहादुर खाती र कृष्णप्रसाद भण्डारीले बहश गर्नुभयो । मुद्दाको सुनुवाइ लम्बिने र समय अभावले बुधबार अबेर पनि आदेश नआउने अवस्था देखेपछि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहशलाई बिट मार्न अघि सर्नुभयो ।

उहाँको पालोपछि केही विषय छुट्यो भन्दै नेपाल बारका पूर्वउपाध्यक्षसमेत रहनुभएका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पतञ्जलि जग्गा सट्टापट्टाको क्रममा मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव नगएको बरु तह–तहमा निर्णय भएको भन्दै इजलासको ध्यानाकर्षण गराउनु भयो । भट्टराईपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले धरौटीसम्बन्धी सैद्धान्तिक अवधारणालाई संक्षिप्त रूपमा राख्नुभयो ।

उल्लेखितबाहेक सो मुद्दामा कसैले पनि बहश गरेनन । तर, आदेशमा भने १६ जना वरिष्ठ अधिवक्ता र एक सय जना अधिवक्ताहरूको नाम किटान भएर आएको छ । ४ पेजको आदेशमा एक पेज जति कानुन व्यवसायीको नाम मात्रै रहेको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले ‘…ले गर्नुभएको बहससमेत सुनियो’ भनी ११६ जना कानुन व्यवसायीहरूको नाम राखिएको हो । यो देखेपछि वकिलहरुमा खैलावैला सुरु भएको हो ।

कानुनका अध्यापक समेत रहेका अधिवक्ता तथा पत्रकार अमृत खरेलले त झुट कुरा भनेर सामाजिक सञ्जालमै लेखिदिनु भएको छ । बहस नै नगरेका कानुन व्यवसायीको नाम आदेशमा समावेश हुनुलाई ‘झुटो कुरा’ भनी खरेलले टिप्पणी गर्नुभएको हो । उहाँको यो टिप्पणीमा आक्रोस देखिन्छ ।

‘बहस नै नगरेका वकिलको नाम बहस गरेको भनेर देखादेखी झुटो कुरो लेख्ने इजलासहरूबाट सत्यको अन्वेषण कसरी होला ?,’ खरेलले लेख्नुभएको छ, ‘आदेशहरूमा यति मात्रै झुट लेखिएपछि अरु कुरा चाहिँ सत्य नै लेखिएको हुन्छ भनेर आम न्यायापेक्षीले पत्याउने कसरी ?’

‘बहस नै नगरेका वकिलको नाम बहस गरेको भनेर देखादेखी झुटो कुरो लेख्ने इजलासहरूबाट सत्यको अन्वेषण कसरी होला ?,’ खरेलले लेख्नुभएको छ, ‘आदेशहरूमा यति मात्रै झुट लेखिएपछि अरु कुरा चाहिँ सत्य नै लेखिएको हुन्छ भनेर आम न्यायापेक्षीले पत्याउने कसरी ?’ माधव नेपालको मुद्दाले कानून ब्यवसायीहरुमा बहश भन्दा नाम टिपाएर चर्चा कमाउने डरलाग्दो रोड हावी भएको तथ्यलाई उजागर गरिदिएको छ ।

चर्चाका लागि कानुन ब्यवसायी यसरी नाम टिपाउँदै हिडदै गर्न थालेपछि वकिलहरुमा खैलाबैला सुरु भएको देखिन्छ । मुद्दाहरूमा बहस गर्न नपाएपछि वकालतनामा राखेर नाम लेखाउने प्रवत्ति बढेको बुधबारको घटना पहिलो होइन ।

यसअघि पनि केही ठूला, बहुचर्चित मुद्दाहरूमा कानुन व्यवसायीहरू आफ्नो नाम लेखाउने गरेका थिए । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा त्यसैगरी वकालतनामा थप्ने क्रम बढेको थियो । बहस चल्दै गर्दा वकालतनामा थप्ने कानुन व्यवसायीहरूको पनि भिड बढेपछि संवैधानिक इजलासले अब नयाँ वकालतनामा थप्ने काम रोक्नु भन्ने आदेश नै दिनुपरेको घटना यसअघि रहेको छ ।

कानुन ब्यवसायीले आफ्नो फाइदाका लागि यस्तो काम गर्ने गरेको कानून क्षेत्रकै अनुभवीहरुको भनाई छ । उनीहरुका अनुसार धेरै मुद्दामा बहस गरेको अभिलेख तयार पार्न सकेमा कानुन व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा हुने गरेको छ । यस्तो काम नियुक्ति खानका लागि उपयोगी हुने उनीहरुको भनाई छ ।

न्यायाधीश हुन चाहने कानुन व्यवसायीले तोकिएको मुद्दामा बहस पैरवी गरेको भन्ने मापदण्ड पूरा गरेको हुनुपर्छ । अर्कोतर्फ, वरिष्ठ अधिवक्ता हुनसमेत तोकिएको संख्यामा बहस पैरवी गरेको देखाउनुपर्छ । यी दुई कामका लागि बहश नै नगरे पनि नाम टिपाउने काम भइरहेको हो ।