रामेछाप, ११ असार । मन्थली नगरपालिकाले ‘बालमैत्री स्थानीय शासन युक्त नगर’ घोषणा गर्ने तयारीस्वरूप बुधबार लगानी सम्मेलन सम्पन्न गरेको छ।
नगरपालिकाको सभा हलमा आयोजित उक्त सम्मेलनमा स्थानीय तह, संघसंस्था, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गत जेठ १४ गते मन्थली नगरका सबै वडाहरूलाई ‘बालमैत्री वडा’ घोषणा गरिसकेपछि अब नगरस्तरमा बालमैत्री शासन घोषणा गर्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ। त्यसैका लागि सम्मेलनको आयोजना गरिएको हो।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ अघि बढेको मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सबै सूचकहरू पूरा गरिसकेको प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो। अब प्रदेश सरकारबाट आवश्यक अनुगमन र रिपोर्ट प्राप्त भएपछि नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले घोषणाप्रति स्थानीय सरोकारवालाहरूको चासो रहेको भन्दै आभार व्यक्त गर्नुभयो। उहाँले बालमैत्री शासन कार्यान्वयन सफल पार्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सूचना अधिकारी तथा उपसचिव हेमन्त कुमार बुढाथोकीका अनुसार बालमैत्री स्थानीय शासन निर्देशिका २०७२ अनुसार नीति, योजना र कानुन निर्माणमा बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिएको छ।
कार्यक्रममा सहभागीहरूले व्यक्तिगत र संस्थागत रूपमा बालमैत्री कार्यक्रमका लागि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्थली नगरपालिकाका अनुसार, बालमैत्री स्थानीय शासन घोषणासम्बन्धी अन्तिम कार्यक्रम आयोजना गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, नागरिक समाज तथा सरोकारवाला निकायका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आगामी घोषणात्मक कार्यक्रममा ५ हजारभन्दा बढी सहभागीको उपस्थिति सुनिश्चित गरिने योजना रहेको बुढाथोकीले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिने र सहयोग गर्ने व्यक्तिहरूलाई मायाको चिनो वितरण गरिने पनि नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्