काठमाडौं, माघ ७ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीमा तीन सदस्य मनोनीत हुनुभएको छ । जनवरी १३ मा बसेको मञ्चको भर्चुअल बैठकले संगठनमा योगदान पुर्याएका बिभिन्न देशमा कार्यतर तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
मनोनीत हुनेमा जर्मनीका संस्थापक अध्यक्ष सन्तोष भट्टराईसहित युएईका बाबुराम बिश्वकर्मा र अष्ट्रेलियाका माधव शाह हुनुहुन्छ । मञ्चमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याएको कारण उहाँहरुको योगदानको कदर गर्दै अन्तराष्ट्रिय कमिटीको सदस्यमा मनोनीत गरिएको अध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो ।
बैठकले अष्ट्रेलियाका राजनकुमार बस्नेत र अमेरिकाका प्रितीसागर खत्रीलाई अन्तराष्ट्रिय कमिटीको सल्लाहकारमा मनोनीत गरेको छ भने जर्मनीका बाबुराम खतिवडालाई युरोप महादेश कमिटीको सदस्यमा मनोनीत गरेको छ ।
बैठकले युवा तथा खेलकुद बिभाग प्रमुखको जिम्मेवारी सचिवालय सदस्य प्रभु थापालाई दिएको छ । अमेरिका महादेशका इञ्चार्ज समेत रहनुभएका सचिवालय सदस्य थापालाई बैठकले युवा तथा खेलकुद बिभागको प्रमुखको समेत जिम्मेवारी थप गरेको हो । बैठकले स्वास्थ्य बिभागकी उपप्रमुख सीता केसी थापालाई प्रमुखमा बढुवा गर्ने निर्णय गरेको छ ।
मञ्चका अध्यक्ष थापाको अध्यक्षता र इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नेताहरुको मासिक लेबीसमेत तोकेको छ । आर्थिक बिभाग प्रमुख सुरेन्द्र थपलियाले गर्नुभएको लेबी सम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गर्दै बैठकले अन्तराष्ट्रिय तहका पदाधिकारी, सदस्य तथा सल्लाहकार र क्षेत्रीय तहका पदाधिकारीलाई लेबी तोकेको उपसचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख चानक पोखरेलले बताउनु भयो ।
बैठकले आर्थिक बिभागको सचिवमा अष्ट्रेलियाका दिनेश पाण्डेलाई मनोनीत गरेको छ । बैठकमा सचिव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाले सांगठानिक प्रतिवेदन पेश गर्दै संगठित सदस्यहरुको संख्याबारे जानकारी गराउनु भयो ।
बैठकमा प्रमुख अतिथीसमेत रहनुभएका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं इञ्चार्ज डा. राजन भट्टराईले मनोनीत सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज डा. राजन भट्टराईले मञ्चको सवै तहका कमिटीहरु ब्यवस्थित रुपमा सञ्चालन भएकोमा खुसी ब्यक्त गर्दै संगठन बिस्तारको कामलाई अपेक्षित रुपमा अघि बढाउन बिशेष योजना तर्जुमा गर्न निर्देशन दिनुभयो ।
यसैगरी अध्यक्ष थापाले बैठक समापनको क्रममा पदाधिकारी तथा सदस्यहरुको सुझाव र संगठनका इञ्चार्जको निर्देशनअनुसार कामलाई थप ब्यवस्थित बनाउने अठोट गर्नुभएको उपसचिव पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्