रामेछाप, २० असार । मन्थली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्य प्रवर्धन, तनाव व्यवस्थापन, योग, ध्यान तथा सिरोधारा सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा मन्थलीमा कार्यक्रम भएको हो । चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा आयुर्वेद विशेषज्ञ डा.क्षितिज बाराकोटीले मानसिक स्वास्थ्य प्रवर्धन, तनाव व्यवस्थापन, योग तथा ध्यान ध्यानका बारेमा सैद्धान्तिक चर्च गर्नुका साथै व्यवहारिक अभ्यास समेत गराउनुभएको थियो । उहाँले आयुर्वेदिक उपचार पद्धति र त्यसको महत्वका बारेमा समेत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै डा.बाराकोटीले स्वास्थ्यकर्मीहरू बिरामीसँग काम गर्दै गर्दै आफैँ बिरामी पर्ने र त्यसले विभिन्न खालका मानसिक समस्या निम्त्याउने बताउनुभयो । त्यसैले स्वास्थ्य क्षेत्रमा काम गर्नेले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, योग, ध्यान लगायतका रिफ्रेस हुने कुरामा बढी ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा मन्थली अस्पतालका चिकित्सक लगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछपाका स्वास्थ्यकर्मीहरु लगायतकाे सहभागिता थियाे ।
प्रतिक्रिया दिनुहोस्