जनता टाइम्स

२० असार २०८२, शुक्रबार २१:२६

विभिन्न संगठन छाडेर पत्रकारहरू प्रेस चौतारी नेपालमा आबद्ध


काठमाडौं, २० असार । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्व उपाध्यक्ष तथा हाल श्रमजीवी पत्रकार संघ सर्लाहीका अध्यक्ष अनवर अहमद प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ। उहाँलाई चौतारीका महासचिव हिरामान लामाले संगठनमा स्वागत गर्नुभएको हो।

संगठन प्रवेशको सो अवसरमा एमालेका मधेस इञ्चार्ज लीलानाथ श्रेष्ठ, चौतारी नेपाल मधेस प्रदेश अध्यक्ष लालबाबु शेख, प्रदेश इञ्चार्ज अच्युत पौडेल, केन्द्रीय सदस्य बखतियार अलीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

रुकुम पूर्वबाट टीका केसीको प्रवेश

त्यस्तै, असार २० गते रुकुम पूर्व शाखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको अवसरमा प्रेस सेन्टर नेपाल रुकुमका सचिव टीका केसीले प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ। उहाँलाई लुम्बिनी प्रदेश सहइञ्चार्ज गणेश आचार्यले स्वागत गर्नुभएको हो।

जुम्लाबाट प्रेस सेन्टर नेपाल परित्याग गरी चौतारीमा आवद्ध

जुम्लाबाट पनि प्रेस सेन्टर निकटका केही पत्रकारहरूले प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ। कर्णाली इञ्चार्ज याम शर्माका अनुसार काञ्जि रोवा टाइम्सका आकाश सुनार, कर्णाली मिसन पत्रिकाका लोकेश जङ्ग विश्वकर्मालगायत युवा पत्रकारहरूले प्रेस सेन्टर नेपाल परित्याग गरी चौतारीमा आवद्धता जनाउनुभएको हो।

उहाँहरूलाई प्रेस चौतारी कर्णाली प्रदेश सचिव नौरते नेपाली र जिल्ला अध्यक्ष मानदत्त रावलले संगठनमा स्वागत गर्नुभएको थियो।

चाैतारीमा आउनेलाई उपयुक्त जिम्मेवारी प्रदान गरिने

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार नयाँ प्रवेश गर्ने सम्पूर्ण पत्रकारहरूलाई संगठनभित्र उपयुक्त जिम्मेवारी प्रदान गरिनेछ। उहाँहरुकाे आवद्धताले प्रेस स्वतन्त्रता र श्रम अधिकारका सवालमा प्रेस चौतारीको भूमिका अझ सशक्त हुने विश्वास  लिएकाे छ ।