जनता टाइम्स

२२ माघ २०८०, सोमबार १०:५३

रचनात्मक कार्यक्रमसहित देशभर मनाइदै प्रेस चौतारीको २६औं स्थापना दिवस, यी हुन आज पुरस्कृत हुने पत्रकार


काठमाडौं, माघ २२ । प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २६औं आस्थापना आज दिवस देशभर मनाइदै छ ।

अध्यक्ष गणेश बस्नेतका अनुसार २६औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको छ भने र सवै जिल्लाले रचनात्मक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइरहेका छन ।

स्थापना दिवसको अवसरमा केन्द्रसहित जिल्लाले समेत पत्रारलाई पुरस्कृत गर्ने कार्यक्रम राखेको छ । प्रेस चौतारीका झण्डै ३७ जिल्लाले पुरस्कार स्थापना गरेको छ । केन्द्रको पुरस्कार स्थापना दिवसकै दिन आज प्रदान गरिन लागेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । स्थापना दिवसमा यसपटक प्रेस चौतारीले यसपटक प्रवासी नेपाली मञ्च र नेपाल उद्योग तथा ब्यवसायी महासंघसहित समाजका प्रतिष्ठित ब्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ ।

प्रेस चौतारी नेपालले यस वर्षको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृतिसहित ६ वटै पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । प्रेस चौतारीले यस बर्ष जनताटाइम्स डटकमका सम्पादक यसिमा महितसहित ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको महासचिव हिरामान लामाले बिज्ञप्तीमार्फत जानकारी दिनुभयो ।

महासचिव लामाका अनुसार यस बर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ ।

यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष माधव नेपाललाई दिने निर्णय गरेको छ । प्रेस चौतारीले चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट जनताटाइम्सका सम्पादक यसिमा महतलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सम्पादक महत जनताटाइम्सका संस्थापक सम्पादक स्वर्गीय कार्कीका सहकर्मीसमेत हुनुहुन्छ ।

यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारका लागि फणिदेव महत चयन हुनुभएको छ । त्यस्तै, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी, र सावित्रीदेवी– पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने भएको छ ।

बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहनुभएको सिफारिश समितिले विभिन्न चरणमा बैठक गरी उक्त पुरस्कार छनोट गरेको हो ।