काठमाडौं, असोज ६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध विशेष रहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको ‘विचारधारात्मक छलफल कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले यहाँको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले नेपाल–चीन बीच ‘समस्यारहित सम्बन्ध’ भएको बताउँदै उहाले यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताउनु भयो । ‘नेपाल–चीन मित्रता खुल्ला, स्वतन्त्र र अटल छ’, नेकपा अध्यक्षसमेत रहनु भएका ओलीले भन्नुभयो, ‘हाम्रो मित्रता शर्तहरूभन्दा माथि छ, र सम्बन्ध समस्यारहित छ ।’
प्रधानमन्त्री ओलीले चीनले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले विश्व समुदायलाई पाठ सिकाएको बताउनु भयो । उहाले छलफल कार्यक्रमले एक–अर्काले अपनाएको प्रणाली, अभ्यास, विचार र सिद्धान्तबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति शी चिनफिङको विचारधारा विश्वव्यापी बहसको विषय बनेको बताउनु भयो । ‘शी–विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ’, प्रचण्डले भन्नुभयो, ‘चीनको सरकारले जनताको सेवा गरेर शासनमा बस्ने वैधता पाएको छ । शासनमा बस्नेहरू विस्तारै जनताको सेवा गर्नुभन्दा सुख सुविधामा लागेमा कम्युनिस्टहरूको शासन गर्ने वैधता समाप्त हुन्छ ।’ नेपालले एक चीन नीतिको शब्दमा मात्र नभएर व्यवहारमै कार्यान्वयन गरिरहेको समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्