काभ्रेपलाञ्चोक, असार ६ । काभ्रेपलाञ्चोकका एक जना वडाध्यक्ष चोरी अभियोजमा कारागार चलान भएका छन । रोशी खोलाको क्षतिग्रस्त पुलका पाटपुर्जा चोरी गरी बिक्री गर्न खोजिएको घटनामा पक्राउ परेका रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोककुमार गौतम उर्फ हुदराज गौतमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला अदालत, काभ्रेका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिनुभयो । वडाध्यक्ष गौतमसहित टिपरचालक मानबहादुर तामाङ, रमेश तामाङ र कबाडी संकलकहरू मन्टुकुमार र जितेन्द्र पासवानलाई प्रहरीले गत जेठ १२ गते पक्राउ गरेको थियो ।
अदालतले वडाध्यक्ष गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने कवाडी व्यवसायीका कर्मचारी जितेन्द्र पासवानसँग २० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
अदालतको सो आदेशसँगै वडाध्यक्ष गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले जानकारी दिनुभयो । चोरीको समानसहित समातिएका टिपरका चालकहरूलाई भने सरकारी वकिल कार्यालयले नै तारेखमा छाडेको छ ।
अनुसन्धानको क्रममा नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष केसीको पनि संलग्नता देखिएपछि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ । उनी भने फरार छन । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका वडा न ७ रघुचौरको झुलुङ्गे पुल बगाएको थियो ।
त्यस्तै रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिक आवतजावत गर्ने पक्की पुल समेत बगाएको थियो । बगाएको ती पुल रोशी–७ का वडा अध्यक्ष अशोक गौतमले कवाडीलाइ बेचेको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको थियो ।
सरकारी सम्पतिको सम्बन्धित पक्षसंग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्रि वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्रि गरेको भन्दै स्थानीयले उजुरी दिएका थिए ।
उजुरीको आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलिले रोशी–७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति कवाडीमा लान पुल लोड भएका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाइ नियन्त्रणमा लिएको थियो । प्रहरीले टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ बर्ष ४७का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ बर्ष ४० का रमेश लामालाई पक्राउ गरेको थियो ।
वडा अध्यक्ष गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको थियो । गौतमले कवाडी व्यवसायीमार्फत फलामको विक्री वापतको रकम मोवाईल बैकिङ्ग प्रणालीमार्फत भुत्तानी लिइसकेको व्यवसायी मन्टु कुमारले प्रहरीलाई बयान दिएका थिए । सोही बयान र प्रमाणका आधारमा गौतमलाई पक्राउ गरिएको थियो । गौतमले दुई ठाउँको पुल विक्री गरेका थिए ।
वडा अध्यक्ष गौतमले एकल निर्णयमा राज्यको सम्पति बेचेर आफ्नो निजी बैंक खातामा पैसा जम्मा गराएको भन्दै सोही वडाका वडा सदस्य मानदोर्जे तामाङ लगायत स्थानीयले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिएका थिए । सोही आधारमा गौतमसहितका आरोपीलाई पक्राउ गरी मुद्धा चलाइएको थियो ।
चोरी अभियोगमा जेल चलान भएका रोशी–७ का वडाध्यक्ष गौतम माओवादी केन्द्रबाट निर्वाचित हुन हुनुहुन्छ भने फरार रहेका नमोबुद्ध–६ का केसी कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्