जनता टाइम्स

१२ फाल्गुन २०८०, शनिबार १५:४२

उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै दल मिल्नुपर्छ : गगन थापा


काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताउनुभयो । थापाले सबै राजनीतिक दल मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताउनुभयो ।

महामन्त्री थापाले राजनीतिक दल एकअर्काको आरोप प्रत्यारोपमा लाग्दा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताउनुभयो । उहाँले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,’राजनीतिक दलहरुका साथीहरु एकै ठाउँमा छौं । हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ । यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसमा ध्यान पुर्याउनुपर्ने हुन्छ । गर्नुपर्छ, हुनुपर्छ भन्नेकुरामा एक ठाउँमा भइसकेपछि कसरी ? भन्नेकुरामा छलफल गर्नुपर्छ । राजनीतिक पार्टी हुनुपर्छ ।’ महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिनु आवश्यक रहेको बताउनुभयो ।