जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १६:०४

कांग्रेसको आरोप : प्रचण्ड बिश्वासघाती, राजनीतिक रुपमा हदैसम्मको बेइमान


काठमाडौं, फागुन २९ । सत्ता गठबन्धनबाट हठात बाहिरिएको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रधानमन्त्री दाहालमाथि ‘बिश्वासघातीर राजनीतिक रुपमा हदैसम्मको बेइमान’ घोषणा गरेको हो ।

कांग्रेसको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमै अर्थमन्त्री रहनुभएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नै यस्तो आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन कांग्रेसको तर्फबाट होइन, माओवादीले तोड्यो, प्रचण्ड विश्वासघाती देखिए, राजनीतिक रुपमा हदैसम्मको बेइमानी भयो,’ पत्रकार सम्मेलनमा पार्टीको निश्कर्ष सुनाउँदै कांग्रेस प्रवक्ता महतले भन्नुभयो ।

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले अहिलेसम्म भनेको सवै कुरा झुटो र बेइमानपुर्ण रहेको तथा कुनै सत्य कुरा नबोलेको आरोप लगाउनु भयो । ‘प्रधानमन्त्रीले हामीमाथि जे आरोप लगाए, त्यो शतप्रतिशत झुटो हो । उहाँले महासमिति बैठकमा आएका धारणा, दस्तावेजमा उल्लेखित विषय, कोशीका कुरा उल्लेख गर्नुभएको छ । उहाँले म त एभ्रेज उपलब्धिबाट सन्तुष्ट छैन । धेरै उपलब्धि हासिल गर्थे भन्ने उहाँको कुरामा कुनै आधार छैन,’ मशतले भन्नुभयो, ‘उहाँले जे गर्नुभयो, सोचीसम्झी निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको यो प्रवृत्तिजन्य निर्णय र कुनै आसयबाट भएको छ भन्ने कुरामा अब दुई मत रहेन ।’

उहाँले आफूहरु गठबन्धन जोगाउन हदैसम्मको लचिलो भएपनि माओवादीको बेइमानीले कामयाव नभएको बताउनु भयो । महासमिति बैठकले गठबन्धनलाई सुदृढताका साथ अघि बढाउने निर्णय गरेको भए पनि प्रचण्डले राजनीतिक बेइमानी गरेको महतको भनाई छ ।