जनता टाइम्स

९ असार २०८२, सोमबार २१:५९

खाँडादेवी गाउँपालिकाको करिब ६६ करोडको बजेट सार्वजनिक, उत्पादनमुखी नीति तथा कार्यक्रम घोषणा


रामेछाप, ९ असार । खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १ सय ९५ रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष रमा घिसिङले बजेट प्रतिवेदन प्रस्तुत गर्नुभयो।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उत्पादनमुखी र दिगो विकासलाई प्राथमिकतामा राखिएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी वर्षदेखि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्नेछ, जसले स्थानीय आत्मनिर्भरतामा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै जीवनस्तर सुधारका लागि एकीकृत बस्ती निर्माण कार्यक्रम अघि सारिएको छ। शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ भने उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने व्यवस्था पनि गरिने भएको छ। त्यस्तै, जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कृषि क्षेत्र सुदृढीकरणका लागि गाउँपालिकाले ‘एक वडा, एक कृषि उत्पादन’ अवधारणा अघि सारेको छ। प्रत्येक वडामा तिनको भौगोलिक र पर्यावरणीय विशेषतालाई ध्यानमा राख्दै कृषि उपज उत्पादन गरिनेछ। भिरालो तथा सुख्खा भू–भागमा अमिलो जातका फलफूल खेती गरिनेछ भने रैथाने बाली संरक्षणका लागि ‘बीउ पुँजी कोष’ स्थापना गरिनेछ। खुर्सानी खेती प्रवर्द्धन गर्दै जुस र वाइन उत्पादनका लागि स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गरिने योजना सार्वजनिक गरिएको छ।

खाँडादेवी गाउँपालिकामा उत्पादित कृषि उपजको बजार विस्तारका लागि काठमाडौं र गाउँमै ‘कोसेली घर’ स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। अध्यक्ष श्रेष्ठका अनुसार यसले किसानलाई उत्पादनको मूल्य सुनिश्चित गर्दै बजारसँग जोड्नेछ।

गाउँपालिका उपाध्यक्ष रमा घिसिङले आगामी आर्थिक वर्षका लागि ६५ करोड ८४ लाख ८१ हजार १ सय ९५ रुपैयाँको बजेट गाउँ सभामा प्रस्तुत गर्नुभयो। उहाँले चालु वर्षको प्रगति विवरण पनि सार्वजनिक गर्नुभयो।

बजेट संरचना अनुसार उत्पादन, पूर्वाधार, शिक्षा, कृषि र सामाजिक क्षेत्रमा केन्द्रित कार्यक्रमहरूका लागि रकम विनियोजन गरिएको छ। नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक स्रोत परिचालनको तयारीसमेत गरिएको जनाइएको छ।

उहाँले चालु आर्थिक वर्षको हालसम्मको खर्च विवरण पनि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार गाउँपालिकाले चालु वर्षमा हालसम्म अनुमानित बजेटको ६०.३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। पुँजीगततर्फ ४४.३९ प्रतिशत र चालूतर्फ ६८.९३ प्रतिशत बजेट खर्च भइसकेको उल्लेख छ। जेठ मसान्तसम्ममा ९० प्रतिशत योजना सम्झौता सम्पन्न भइसकेको जानकारी पनि उहाँले दिनुभयो।

गाउँपालिकामा चालु आर्थिक वर्षका लागि स्वीकृत २ सय ७५ वटा योजनामध्ये १ सय ७३ वटा योजनाको भुक्तानी सम्पन्न भइसकेको छ भने ४० वटा योजनाको सम्झौता गर्न बाँकी र ६२ वटा योजना भुक्तानी प्रक्रियामा रहेको जानकारी उपाध्यक्ष घिसिङले दिनुभयो।

गाउँपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट आगामी वर्षमा कृषि, पूर्वाधार, शिक्षा, विपद् न्यूनीकरण, स्थानीय उत्पादनको प्रवर्द्धनजस्ता क्षेत्रमा केन्द्रित रहनेछ।