जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १२:२८

फुट्यो बाबुराम भट्टराई नेतृत्वको नेसपा, महिन्द्रा यादव पक्षले गरे माओवादीसँग एकता


काठमाडौं, चैत ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजन भएको छ । नेसपाका नेता महिन्द्र राय यादव पक्षले आज नेसपालाई माओवादी केन्द्रमा समाहित गरेपछि भट्टराई नेतृत्वको पार्टी बिभाजित भएको हो ।

सरकारको बिषयमा भट्टराईसँग बिमती राख्दै आउनुभएका यादव पक्षले माओवादीसँग पार्टी एकता गर्ने निर्णयसहित सहमति पत्रमामा हस्ताक्षर गरेको छ । सहमतिपत्रमामाओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारीसहित गत निर्वाचनमा एउटै चुनाव चिन्हबाट निर्वाचन लडेपनि पछिल्लोसमय पुष्पकमल दाहाल प्रचण्ड दाउपेचको राजनीतिमा लागेकाले पार्टी एकता नहुने घोषणा गर्नुभएको थियो । तर शनिबार यादव पक्षले नेसपालाई माओवादी केन्द्रमा समाहित गर्ने निर्णय लिएका हुन ।

शनिबार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति सार्वजनिक गरेको छ । ‘आज मिति २०८० साल चैत्र ३ गते शनिबारका दिन नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरूको जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहनुभएको छ ।’

गत भदौमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष यादवलाई पार्टी एकता गर्न पत्राचार गर्नुभएको थियो । यस अगाडि पार्टी एकताका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो।

डा. भट्टराईले चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । उहाँले माओवादीको चिन्हबाट लडेपनि निर्वाचन आयोग र संसद सचिवालयमा नेसपाबाट निर्वाचित सांसदलाई नेसपाको मान्यता दिन पत्राचारसमेत गर्नुभएको छ । तर आयोगले निर्णय गर्नुअगावै पार्टी फुटेको छ ।

पार्टी बिभाजित भएपछि अध्यक्ष भट्टराईले पुराना शक्तिहरूसँगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती भन्नुभएको छ । ‘नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको हाम्रो करिब एक दशकको प्रयोग र अनुभवले भन्छ– अग्रगामी वैकल्पिक शक्ति निर्माणका निम्ति पुराना शक्तिहरूसंगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती हुन्छ। कोरोना भाइरस जस्तै पुराना शक्तिहरूको निजी सत्तालिप्सा र भ्रष्टाचारको भाइरस यति खतरनाक छ त्यसले नयाँ उदीयमान वैकल्पिक शक्तिहरूहरूलाई पनि संक्रमित नगरी छाड्दैन !’ भट्टराईले भन्नुभएको छ ।