जनता टाइम्स

५ चैत्र २०८०, सोमबार १७:५३

मधेश प्रदेश सरकार पुनर्गठन, कांग्रेसका मन्त्री बर्खास्त गरी एमाले नेता सरोज यादव मन्त्री नियुक्त


वीरगन्ज, ५ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यावदले बर्खास्त गरी नेकपा एमालेबाट मन्त्री नियुक्त गर्नुभएको हो । मेधश प्रदेशमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद समिम गृह, सञ्चार तथा कानूनमन्त्री हुनुहुन्थ्यो ।

संघीय सरकारमा बनेको नयाँ सत्ता समीकरणअनुसार आज मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको हो । प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले मुख्यमन्त्री दाबी गरे पनि चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।

सोहीअनुसार एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएको छ । यादवले आजै पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको छ । तीन जना मन्त्री भने पछि पठाउने एमालेले जनाएको छ ।

नयाँ गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोसपा सहभागी छैन । तर, मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गर्दा वन तथा वातावरणमन्त्री रहनुभएका लोसपाका नेत रमेशप्रसाद कुर्मीलाई भने यथावत राख्नुभएको छ । प्रदेश सरकारलाई लोसपाले समर्थन कायम राख्ने भएकोले बर्खास्त नगरी यथावत राखिएको हो ।

एमालेले तीन मन्त्री नपठाउँदा बाँकी मन्त्रालय मुख्यमन्त्री यादवले आफैंसँग राख्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषद्अनुसार गृह, सञ्चार तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले लिनुभएको छ ।

पुरानो गठबन्धनमा रहेकै बेला जनमत पार्टीले सरकार छाड्दा शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय खाली थियो । जनमत पार्टी नयाँ गठबन्धनमा सहभागी भएको छैन ।