बझाङ, चैत २४ । नेकपा एमालेले आगामी वैशाख १५ गते हुनलागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार दमन भण्डारीलाई जिताउने गरी अभियान सुरु गरेको छ ।
एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले पार्टीको झन्डा र टिकट बझाङ इञ्चार्ज लगायतका नेताहरूलाई हस्तान्तरण गर्दै अभियान सुरु गर्नुभएको हो । सचिव बिश्वकर्माले बझाङमा आम मतदाताले आफ्नो अभिमतमार्फत एमालेलाई रोज्ने बिश्वास ब्यक्त गर्नुभयो ।
इञ्चार्ज विश्वकर्माले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य समेत रहनुभएका बझाङ इञ्चार्ज राजेन्द्र रावल, पूर्वइञ्चार्ज भैरवबहादुर सिंह र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीलाई टिकट र झन्डा हस्तान्तरण गर्नुभयो ।
बझाङ १ बाट प्रदेश सभामा निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । शुक्रवार टिकट र झन्डा बुझ्दै स्थायी कमिटी सदस्य थापाले बझाङ निर्वाचन जित्दै एमालेले सुदूरपश्चिममा १ सिट थप गर्ने बताउनु भयो ।
पोलिटब्युरो सदस्य समेत रहेका जिल्ला इञ्चार्ज रावलले बझाङका जनताले योग्य उम्मेदवार छनोट गर्ने र त्यहाँको लागि सबैभन्दा उपयुक्त उम्मेदवार एमालेले उठाएकाले निर्वाचन जित्नेमा विश्वस्त रहेको बताउनु भयो ।
प्रदेश अध्यक्ष जैशीले बझाङमा एमालेको बढ्दो लोकप्रियताका कारण जित निश्चित भएको बताउनु भयो । बझाङमा एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । आज एमाले नेता कार्यकर्ताहरूको उपस्थितिमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्