जनता टाइम्स

२ श्रावण २०८३, शनिबार १९:३२

सिंहदरबार अगाडि ‘घण्टी’ बजाउँदै निहारिका र बिनुको प्रदर्शन, गृहमन्त्रीसँग भेट नपाएको गुनासो


काठमाडौं, साउन २ । आफ्ना माग सम्बोधन नभएको भन्दै निहारिका राजपूत र बिनु यादवले शनिबार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिँदै प्रतीकात्मक रूपमा ‘घण्टी’ बजाएर विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या राख्न खोज्दा भेट गर्न नपाएको र सिंहदरबार प्रवेशमा अवरोध गरिएको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिन्ह ‘घण्टी’ बजाउँदै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै निहारिका राजपूतले पत्रकार र काठमाडौं महानगर प्रमुख हुँदा आफ्नो मुद्दामा साथ दिएको भन्दै प्रशंसा गरेका रवि लामिछाने र बालेन्द्र शाह अहिले सत्ता र जिम्मेवारीमा पुगेपछि मौन बसेको आरोप लगाइन्।

उनले आफूहरूलाई सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको, करिब चार घण्टासम्म गेटबाहिर कुराएको तथा धर्नाका क्रममा प्रहरीसँग भएको धकेलाधकेलमा लुगा च्यातिएको र सामान्य चोटपटक लागेको दाबी गरिन्।

राजपूतले आफ्नो बलात्कारपछि जन्मिएको बालकको डीएनए परीक्षण, त्यसपछि भएको मिलापत्र विवाह र आफूले भोगेको घरेलु हिंसासम्बन्धी विषयमा निष्पक्ष अनुसन्धान र न्यायको माग दोहोर्‍याइन्। नयाँ सरकारबाट ठूलो अपेक्षा राखे पनि ती अपेक्षा पूरा नभएको उनको भनाइ थियो।

प्रदर्शनकारीहरूले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।