जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार ०९:१२

यसरी हुन्छ उपसभामुखको पद खाली


काठमाडौं, असोज १७

प्रतिनिधिसभा भनेको सरकारका काम र कारवाहीको समिक्षा तथा निर्देशन दिने थलो हो । यहाबाट कानुन तथा नीतिहरु पारित हुन्छन् र ति सरकारले लागु गर्ने गर्दछ । त्यसैले सरकार संचालनका लागि प्रतिनिधिसभाको ठुलो महत्व छ । तर, अहिले संसदको सभामुख पदमा बस्ने व्यक्ति रिक्त छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप राजिनामा दिएपछि यो पदमा बस्ने व्यक्तिको खोजी हुदैछ । अहिले उपसभामुखमा तत्कालिन नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे रहनु भएको छ । संसदमा बहुमत प्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख आफ्नै पार्टीबाट बनाउने निर्णय गरिसकेको छ । महरा पनि नेकपाबाटै सभामुखमा निर्वाचित हुनु भएको थियो । संविधान अनुसार सभामुख र उपसभामुख भिन्न भिन्न दलको हुनुपर्ने व्यवस्था रहेको छ । संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ ।

नेकपाले सभामुख आफैसँग राख्ने निर्णय गरेपछि उपसभामुखले राजीनामा गर्नुपर्ने अवस्था आएको छ । संविधानले सभामुखले उपसभामुख समक्ष र उपसभामुखले सभामुख समक्ष राजीनामा दिनुपर्ने उल्लेख छ । सो देखी राजीनामाका विषयमा अन्य कुनै व्यवस्था छैन । जसका कारण केही कानुनी अड्चन देखिने सम्भावना रहेको कतिपय कानुनविद्हरुको भनाई छ ।

नेकपाले भने उपसभामुखलाई राजीनामा दिन कुनै कानुनी अड्चन नरहेको जिकिर गरेको छ । पूर्वसभामुख एंव नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख रिक्त रहे पनि पद रिक्त नभएकाले राजीनामा दिन सक्ने बताउनु हुन्छ । महराले सभामुख पदबाट राजीनामा दिएको तर संसद्मा सभामुख पद रहिरहेको अर्थमा यसलाई बुझ्नुपर्ने तर्क उहाको रहेको छ । ‘संसद् नियमावलीमा उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिने व्यवस्था छ । सभामुख पदमा बहाल हुनुपर्छ भन्ने व्यवस्था त छैन ?’, नेम्वाङ प्रश्न गर्दै भन्नुभयो, ‘सभामुख पद हो, जुन संसदमा बहाल छ । अतः त्यो पदलाई सम्बोधन गरेर उपसभामुखले राजीनामा दिनुहुन्छ ।’

नेता नेम्वाङले उपसभामुखले राजीनामा दिएपछि संसद्को ज्येष्ठ सदस्यले संसद् सञ्चालनको जिम्मा लिएर उपसभामुखको राजीनामा पढेर सुनाएसँगै पद रिक्त हुने जानकारी दिनुभयो । उपसभामुखको पद रिक्त भएपछि दुवै पदको निर्वाचनको बाटो खुल्ने नेम्वाङको भनाइ छ । उहाले उपसभामुखको राजीनामामा कुनै द्विविधा पाल्नुनपर्ने जिकिर समेत गर्नुभयो । नेकपाभित्र अहिले सभामुख पदको आकांक्षी धेरै रहेका छन् ।

सभामुख पद हो, जुन संसदमा बहाल छ । अतः त्यो पदलाई सम्बोधन गरेर उपसभामुखले राजीनामा दिनुहुन्छ, उपसभामुखको राजीनामामा कुनै द्विविधा राख्नुपर्ने अवस्था अहिले छैन । 

सभामुख पद रिक्त भएपछि नेपाली कांग्रेसले सो पद आफुले पाउनुपर्ने दावी गर्न थालेको छ । कांग्रेसले सभामुखका लागि उम्मेद्धार घोषणा गर्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आफुलाई सर्वसम्मत रुपमा चयन गर्न पहल शुरु गरिसक्नु भएको छ । कांग्रेस स्रोतका अनुसार खाँणले सर्वसम्मतको प्रयासका लागि नेकपाका शिर्षतहका नेतासँग छलफल शुरु गर्नुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उहाको पक्षमा लविङ गरिरहेको स्रोतले जानकारी दिएको छ ।

संसदमा सभामुख निर्वाचित हुन नेकपाको मत अनिवार्य रहेको छ । नेकपाको हाल संसद्मा १७३ सदस्य रहेका छन् । रविन्द्र अधिकारीको निधन भएकाले एक सदस्य रिक्त रहेको छ । २७५ सिट सख्यामध्ये कांग्रेसको ६३ र समाजवादी फोरम र राजपासँग समान १७\१७ सदस्य रहेका छन् । चार जना भने स्वतन्त्र सांसद रहेका छन् ।