काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बजार परिसूचक २६.५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ को विन्दुमा पुगेर बन्द भएको छ। यो १.०२ प्रतिशतको वृद्धि हो । आइतबार दिनभरको कारोबारमा बजार सकारात्मक देखिएको थियो। कुल २४८ कम्पनीका ३२८ वटा स्क्रिपको कारोबार भएकोमा १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आज कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन ।
बजार बढेसँगै कारोबार रकममा पनि राम्रो वृद्धि देखिएको छ। दिनभरमा ७४ हजार ७५२ पटकको कारोबारबाट कुल १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बढ्दो बजारसँगै आज बजारमा उत्पादनमूलक बाहेक सबै परिसूचकमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै वृद्धि बैंकिङ क्षेत्रमा २ प्रतिशत बराबर रहेको छ । कारोबार रकमका आधारमा आज साहस ऊर्जा सबैभन्दा अगाडि रह्यो। कम्पनी एक्लैको ५७ करोड ८६ लाखभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि क्रमशः बीपीसीएल र युनिभर्सल पावर कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।
आजको बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विन्धवासीनी हाइड्रोपावरका लगानीकर्ताले ८.९७ प्रतिशत कमाएका छन्। सबैभन्दा धेरै गिरावट जोशी हाइड्रोपावर कम्पनीको ५.५७ प्रतिशतले भएको छ । आजको कारोबारसँग समग्र बजारको पुँजीकरण बढेर ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्