जनता टाइम्स

१७ असार २०८१, सोमबार १९:३५

यस्तो कुरा गर्दै हिडनु ठीक होइन : केपी ओली


काठमाडौं, असार १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेपाली जनता सुखी हुनुपर्छ भन्ने सोचका साथ नेकपा एमाले अघि बढेको बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । सुखी हुनको लागि गरिबी र अभाव हुनु नहुने बताउँदै ओलीले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर एमाले अगाडि बढेको प्रष्ट पार्नुभयो । हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्ण रूपले बाँच्न पाउनु पर्नेमा उहाँले जोड दिनुभयो । समृद्ध नेपाल र सुखी नेपाली एमालेको अन्तिम लक्ष भएको पनि ओली बताउनुभयो ।

‘हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, बिनासमृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ’, उहाँले भन्नुभयो । नेकपा एमाले राजनीतिका लागि राजनीति गर्न नआएको पनि उहाँले प्रष्ट पार्नुभयो । एमालेको राजनीति केही व्यक्तिको स्वार्थ पुरा गर्नमा केन्द्रित नभएको उहाँको भनाई छ ।

उहाँले आज पनि एमालेका ५ लाख सदस्यहरू यो अभियानमा देशभरि खटिरहेका बताउनुभयो । कम्तीमा ५ लाख कार्यकर्ता आज पनि देशभरि क्रियाशील रहेका ओलीले बताउनुभयो । एमालेका जति क्रियाशील पार्टी सदस्य नेपालका अन्य कुनै राजनीतिक दलमा नभएको ठोकुवा पनि गर्नुभयो ।

एमालेले संसद्, सरकार र सडक तीनवटै ठाउँबाट देश बनाउने काम गर्ने भन्दै ओलीले सोहीअनुसरको योजना बनाइरहेको बताउनु भयो । यस्तै उहाँले एमाले नेता कार्यकर्ता अनुशासित रूपमा एकताबद्ध भएर नमुना काम गर्ने गरी अघि बढ्नु पर्ने बताउनु भयो ।

पार्टीभित्र कुनै कमजोरी भए एक ठाउँमा बसेर आलोचना, आत्मालोचना गर्नुपर्ने धारणा पनि ओलीले राख्नुभयो । बाहिर नचाहिने टिका टिप्पणी गरेर हिँड्नु ठिक नहुने भन्दै सवै नेता कार्यकर्तालाई सचेत गराउनु भयो । आलोचना भनेको सच्चिनको लागि सहयोग गर्ने कुरा भएको उहाँको भनाई छ ।

२०८४ मा एमालेले सबै ठाउँमा जित्नु पर्ने र देशको शासन सत्ता लिनु पर्ने उहाँले बताउनुभयो । एमालेले मिसन २०८४ मार्फत शासन सत्ता प्राप्त गरेर देश बनाउने काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।