जनता टाइम्स

२१ असार २०८१, शुक्रबार ११:२०

बेलायतमा ढल्यो कन्जरभेटिब पार्टीको १४ वर्षे शासन, भारी बहुमतले विजयी बन्यो लेबर पार्टी


लण्डन, असार २१ । बेलायतमा लेबर पार्टीले सरकार बनाउने निश्चित भएको छ। बिहीबार सम्पन्न आम निर्वाचनबाट लेबर पार्टी भारी बहुमतले विजयी भएको छ।

शुक्रबार बिहानसम्म ५७५ सिटको परिणाम आइसक्दा लेबर पार्टीले ३८६ सिट जितेको द गार्डियनले उल्लेख गरेको छ। बेलायतमा सरकार बनाउन बहुमतका लागि ३२६ सिट भए पुग्छ।

प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिब पार्टीले जम्मा ९५ सिट मात्रै जितेको छ। गणना बाँकी रहेको सिटमा पनि लेबर पार्टीकै उम्मेदवार विजयी हुने निश्चित रहेकाले यसपालि कन्जरभेटिब पार्टीको १४ वर्षे शासनको अन्त्य हुने भएको छ।

अब लेबर पार्टीका नेता किएर स्टार्मरले बहुमतको सरकार बनाउनु हुनेछ । यसअघि सन् २०१९ को आम निर्वाचनमा कन्जरभेटिभ पार्टीले ३६४ सिट ल्याएर बहुमतको सरकार बनाएको थियो।

प्रधानमन्त्री सुनकले पराजयको जिम्मेवार आफूले लिने बताइसक्नु भएको छ । उहाँले बधाई दिनका लागि लेबर पार्टीका नेता स्टार्मरलाई निम्तो गरेको पनि बताउनु भयो।