काठमाडौं, असार २१ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिश गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाटै अवकाशमा जानुभएको छ ।
१० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।सिफारिसअनुसार बढुवा भएको भए पोखरेल १९ र २० गते दुई दिनका लागि एआईजीको रुपमा कार्यरत रहने अवस्था थियो ।
तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन । जसकारण एआईजीमा बढुवा डीआईजीबाटै शुक्रबार राति १२ बजेबाट पोखरेल अवकाशमा जान लाग्नुभएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहनुभएका पोखरेललाई उहाँको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ । सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल अनिवार्य अवकाशमा जानुभएको हो ।
प्रतिक्रिया दिनुहोस्