जनता टाइम्स

२४ असार २०८१, सोमबार १३:३७

बाढी-पहिरोले परी हालसम्म ७० जनाको मृत्यु, पाँच जना बेपत्ता


काठमाडौं, असार २४ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले जेठ २८ गतेदेखि आज बिहानसम्म बाढी पहिरोमा परेर ७० जनाको मृत्यु भएको जानकारी दिनुभयो । डिआइजी कार्कीका अनुसार बाढी पहिरोमा परी ८६ जना घाइते र पाँच जना बेपत्ता भएका छन । सो घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा बाढी पहिरोका नौ सय ६६ घटना घटेका छन । जसमध्ये ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढी पहिरोमा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।