काठमाडौं, ३ असार । नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा एक सय ५९ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै रुपन्देही र चितवनमा पनि ७० मिलिमिटरभन्दा धेरै पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको दुम्कौली र परासी आसपास भएर बग्ने साना खोलामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकामा गएराति मध्यम वर्षा भएको छ । आज पनि देशका सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागहरूमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिमी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्