जनता टाइम्स

१ श्रावण २०८१, मंगलवार १६:५३

हिजोकोजस्तो डरलाग्दा अप्ठ्यारा र घेराबन्दी छैन, परिणाम निकाल्ने गरी काम गर्छु : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले हिजोकोजस्तो डरलाग्दा अप्ठ्यारा र घेराबन्दी नरहेको भन्दै यसपटक देश र जनताका लागि सकारात्मक परिणाम निकाल्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने अठोट गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज नेकपा एमाले काठमाडौं, सिन्धुपाल्चोकलगायत जिल्ला कमिटी र अन्य संघ संस्थाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो अठोट गर्नुभएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै प्रधानमन्त्री ओलीले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसैअनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको जानकारी दिनुभयो । नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुने गरी सरकारले पहिलो क्याविनेटबाट नै आफ्नो कामलाई अघि बढाएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र, मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषदलाई ठीक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरुका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस । अथवा उद्योग व्यवसाय चलाउने व्यवसायीहरुको निम्ति होस् । व्यापार गर्ने व्यवसायीहरुको निम्ति होस, ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिब्रताका साथ काम गर्ने प्रष्ट पार्नुभयो ।