जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार १७:३८

नेपाल र बंगलादेश साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौं, ४ भदौ । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १–० गोलले पराजित गरेको थियो ।

समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।