भक्तपुर, साउन १ । रामेछाप जिल्लाका नागरिकलाई उपचार सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले भक्तपुर मोडेल हस्पिटल प्रालि, लोकन्थली र समाजसेवी राजुराम पाठकबीच उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
असार ३० गते सम्पन्न सम्झौताअनुसार समाजसेवी राजुराम पाठकको सिफारिसमा भक्तपुर मोडेल हस्पिटलमा उपचारका लागि आउने रामेछाप जिल्लाका बिरामीले उपचार खर्चमा ३० प्रतिशत छुट प्राप्त गर्नेछन्। सम्झौतामा अस्पतालका सञ्चालक भुवन श्रेष्ठ र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ निवासी समाजसेवी राजुराम पाठकले हस्ताक्षर गर्नुभएको छ।
सम्झौताअनुसार सहुलियत प्राप्त गर्न बिरामीले अस्पतालमा आउँदा आफ्नो ठेगाना खुल्ने नेपाली नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा अन्य आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाका हकमा भने जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौताको अवधि तीन वर्ष रहनेछ। आवश्यक परे दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थपघट गर्न सकिने उल्लेख गरिएको छ।
दुवै पक्षले सम्झौतामा उल्लेखित सबै शर्तहरूको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्