जनता टाइम्स

१ श्रावण २०८३, शुक्रबार १७:४७

बागमतीका सबै जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सफल भयौँ : किरण थापा


काठमाडौं, साउन १ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रदेश सरकार सफल भएको दाबी गर्नुभएको छ।

केदारनाथको शिरका रूपमा परिचित डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला २०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले पछिल्लो दुई वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउनुभयो। प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेको उल्लेख गर्दै उहाँले नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गरिएको दाबी गर्नुभयो।

उहाँले बागमती प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको र सेवाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो।

मन्त्री थापाले सामाजिक सेवाबाटै आफू राजनीतिमा आएको स्मरण गर्दै करिब १० वर्ष डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा रहेर काम गरेको अनुभव सुनाउनुभयो। जहाँ रहेर काम गरे पनि इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गर्दै उहाँले हरेक कामको सुरुवात डोलेश्वर महादेवको स्मरणबाट गर्ने गरेको बताउनुभयो।

उहाँले श्रावणी मेलाले डोलेश्वर महादेवलाई पवित्र धार्मिक तीर्थस्थलका रूपमा थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै ३५ दिनसम्म सञ्चालन हुने मेलामा विविध धार्मिक तथा सांस्कृतिक गतिविधि आयोजना गरिने जानकारी दिनुभयो।

केदारनाथको शिरका रूपमा परिचित डोलेश्वर महादेव मन्दिरमा आज कलश यात्रासहित श्रावणी मेला २०८३ को औपचारिक उद्घाटन गरिएको हो। मेला भदौ ५ गतेसम्म सञ्चालन हुने डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभएको छ।

उद्घाटन कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।