काठमाडौं, भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै चार प्रमुख निकायको कार्यशैलीलाई लिएर चर्काे असन्तुष्टी जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभाग (राअबि), राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग र नेपाल ट्रस्टको कार्यशैलीबारे चरम असन्तुष्टि पोख्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतवार चार वटै निकायका प्रमुखलाई डाकेर प्रधानमन्त्री ओलीले परिणाम दिनेगरी काम नगरे ‘यस्ता संस्थाहरु नै किन राख्ने ?’ भनी प्रश्नसमेत सोध्नुभयो । ‘परिणाम दिन्न, केही गर्नै सक्दैन भने किन राखिराख्ने ? तपाईहरुसँग जवाफ छ ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले जनताको करले चलेका संस्थामा सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र बेथिति हुर्किएको भन्दै यस्तो गतिविधि सह्य नहुने बटमलाइन पनि सुनाउनु भएको बैठकमा सहभागी एक सदस्यले जनताटाइम्स डटकमलाई बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले चार वटै संस्थाबारे एक/एक तथ्य राखेर संस्था राखिरहनुको औचित्य के छ ? उपलब्धी के हुन्छ ? किन राखेज नगर्ने ? भन्ने प्रश्नसहित परिणाम नआए गम्भीर निर्णय लिन बाध्य हुने चेतावनी दिनुभएको छ ।
अब केवल जागिर खाइराख्नका लागि राज्यले निकायहरु चलाइराख्न नसक्ने उहाँको भनाई रहेको ती सदस्यले बताउनुभयो । वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमनत्री ओलीले त्रिभुवन विमानस्थलबाट धेरै क्वीन्टल सुन भित्रिँदासमेत गुप्तचरी निकायले किन थाहा पाउन सकेन ? योभन्दा निकम्मा के ? भन्दै प्रश्न तेर्स्याउनु भएको थियो ।
राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले त्यो काम भन्सारको भएको उल्लेख गर्दै आफूहरुले अध्यागमनबाट आउने जाने मान्छेलाई मात्रै हेर्ने बताएपछि प्रधानमन्त्री ओली जंगिनुभएको थियो । ‘अध्यागमन हेर्न त अध्यागमन विभाग नै खडा गरेर राखिदिएको छ त ? तपाईंहरुले त्यस्तो अपराध थाहा पाउनेमात्रै होइन, हुनुभन्दा पहिल्यै समेत चनाखो हुनुपर्दैन, तपाईहरु किन त्यहाँ बसेको त ? त्यसो भए के काम तपाईहरुको ?’ प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो ।
आफ्नो भनाई राख्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान बिभागले गुप्तचरीमात्रै नभई काउन्टर इन्टेलिजेन्स, अर्थात प्रतिगुप्तचरीसमेत गर्न सक्नुपर्ने, नत्र त्यो संस्थालाई यत्तिकै राख्नुको अर्थ नहुने धारणा राख्नुभएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति सुद्धिकरण बिभाग र नेपाल ट्रष्टको कार्यशैलीप्रति पनि चर्काे असन्तुष्टी जनाउनु भएको थियो ।
‘यो सतर्कता केन्द्रले के गरिराखेको छ ? केही गरिरहेको छैन भने त्यो कार्यालय किन राख्ने ? अव काम पनि नगर्ने, जिब्रो चपाएर कुरा गर्ने पनि नगरौं । काम छ भने राखौं, काम छैन भने सतर्कता केन्द्र डिजल्भ (खारेज) गरौं । दूध नदिने भैंसीलाई घाँसकुँडो मात्रै खुवाएर राख्ने ?,’ प्रधानमन्त्री अोलीको भनाई थियो । उहाँले यस्तै प्रश्न नेपाल ट्ष्टलाई पनि सोध्नुभएको र काम ठीक नभएको तथ्य सम्झाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्