न्युयोर्क (अमेरिका), असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओेलीले कार्बन उत्सर्जनले अल्पविकसित मुलुकहरू प्रभावित भएको तथ्य औंल्याउँदै क्षतिपूर्ति बढाउनु पर्नेप्रस्ताव राख्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गर्नुभएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगनु भएका प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रसंघको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गर्नुभएको थियो । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिनुभएको छ ।
कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । उहाँले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा समेत जोड दिनुपर्ने धारणा राख्नुभयो ।
महासभामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत नेताहरु सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्