जनता टाइम्स

४ कार्तिक २०८१, आईतवार २२:२३

पृथ्वीसुब्बा गुरुङको मेहनतको परिणाम : सञ्चार मन्त्रालयले गर्यो १०० दिनमा गर्नुपर्ने शतप्रतिशत काम


काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनको मूल्यांकन यही साता सार्वजनिक गर्ने हुनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालयहरुलाई दिएको जिम्मेवारी कति पूरा भयो ? कति भएन भनेर मूल्यांकनको काम भइरहेको छ ।

मूल्यांकनपछि सय दिने काम सार्वजनिक हुने छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सरकारको सय दिनको कामको मुल्यांकन समीक्षा कात्तिक ६ वा ७ गते सार्वजनिक हुने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री गुरुङका अनुसार आफ्नो मन्त्रालयलाई सय दिनमा गर्नुपर्ने काम भनेर १५ वटा तोकिएको थियो । तोकिएको सवै काम सम्पन्न गरेको मन्त्री गुरुङले बताउनु भयो । ‘हाम्रो मन्त्रालयलाई जे जिम्मेवारी तोकिएको थियौं, त्यो काम सम्पन्न गरेका छौं,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

उहाँले तोकिएको जिम्मेवारी अनुसार यसअघि १८ घन्टा काम हुने राष्ट्रिय समाचार समितिलाई २४ घन्टा बनाउने, राससबाट थप दुई मातृ भाषा (नेपाल भाषा र मैथिली) मा समाचार सम्प्रषेण, नेपाल टेलिभिजनबाट थप एक मातृ भाषा (नेपाल भाषा) मा समाचार सम्प्रेषण र रेडियो नेपालमा थप एक भाषा (दुनुवार) समाचार सम्प्रेषण सुरु गरिसकेको जानकारी दिनुभयो ।

‘हामी त फूलमार्क (१०० अंक) पाउने मन्त्रालय भएकाछौं । हामीले दाबी पनि फूलमार्क गरेका छौं । प्रधानमन्त्री कार्यालयमा मूल्यांकन हुँदै होला,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले सय दिनमा गर्ने भनिएको कुनै पनि काम बाँकी नरहेको जानकारी दिनुभयो ।