पोखरा, कात्तिक ७ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य नै अस्वीकार गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलसँग सोमबार र मङ्गलवारको बयानमा लामिछानेले सुर्यदर्शन सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गर्नुभएको हो । दुवै निकायसँगको बयानमा लामिछानेले आफ्नो नामबाट ऋणस्वरुप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य पनि अस्वीकार गर्नुभएको छ ।
‘रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा सो व्यक्ति म होइन,’ बयानमा लामिछानेको भनाई उधृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले जनताटाइम्स डटकमसँग भने । ती अधिकृतका अनुसार पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले बयानमा भन्नुभएको छ, ‘सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन ।’
सुर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको पनि उहाँको भनाई छ, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।’ लामिछानेले आफ्नो नाममा ऋण निकासा भएको बिषयमै अनबिज्ञता जनाएको पनि उनले बताए । ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन,’ ती अधिकृतका अनुसार लामिछानेले बयानमा भन्नुभएको छ ।
बयानमा उहाँले गितेन्द्रबावु (जीबी) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा आफूलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको जिकिर गर्नुभएको छ । यस्तै गोर्खा मिडियामा आफूले १ करोड ८० लाखको सेयर लिएको उल्लेख गर्दै बयानमा भन्नुभएको छ, ‘एक करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिएँ ।’
जीबी राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन । सुर्यदर्शनसहित ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख अवैध ढंगबाट आएको तथ्य संसदीय छानबिन समितिको निष्कर्ष छ । राजनीतिमा आउने बेलासम्म लामिछाने गोर्खा मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
तर सुर्यदर्शनमा खोलिएका खाताहरू आफ्नो नभएको लामिछानेले दावी गर्नुभएको छ । गोर्खा मिडियाको आर्थिक कारोबार गितेन्द्रबावु ले नै गर्ने गरेको दावी पनि लामिछानेको छ । ‘कम्पनी छाड्दा मैले कुने रकम लिएको छैन, सहकारीबाट लोन लिने, हिनामिना गर्ने र अपचलनमा म संलग्न छैन,’ लामिछानेको भनाई छ ।
लामिछानेलाई कात्तिक २ गते वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएपछि म्याद थप गरी बयान लिइएको हो । सुर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा खगोर्खा मिडियाका उपाध्यक्ष रहनुभएका पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्