पोखरा, कात्तिक ९ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान हुने भएको छ ।
संगठित रूपमा सहकारी ठगीसम्बन्धी कसुरमा पक्राउ परेका लामिछाने र जोशीलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । कास्की जिल्ला अदालतले बिहीबार लामिछाने र जोशीलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपको अनुमति माग गर्दै बिहीबार प्रतिवेदन बुझाएका थिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको बहशमा सरकार पक्षका वकिलले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका क्रममा विभिन्न सरकारी कार्यालय, संघसंस्था र बैंकबाट मागिएको कागजात प्राप्त भई नसकेको तथा बयानसमेत बाँकी रहेकाले थुनामै राखेर थप अनुसन्धान गर्नुपर्ने बताएका थिए ।
अदालतले पोखराको सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईंमाथि पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न अनुमति दिएको छ । पूर्वडीआईजी जोशी गत असोज ६, पछाईं असोज १३ मै पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन । लामिछानेलाई गत शुक्रबार पक्राउ परिएको हो ।
‘सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र पछाईंमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतले बाटो खोलेको छ,’ कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले भन्नुभयो, ‘अब तीनवटै कसुरमा अनुसन्धान अघि बढ्छ ।’
संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिन हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ । जोशी पक्राउ परेको एक महिना नाघिसकेको छ । सुरुमा पक्राउ परेको व्यक्तिसँग म्याद मिलान गरिने भएकाले लामिछाने र जोशीलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न अझै करिब दुई महिना हिरासतमा राख्ने अनुमति अदालतले दिन सक्छ । सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप लामिछाने र जोशीमाथि छ । लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन ।
सहकारीपीडितको तर्फबाट बहश गर्नुभएका अधिवक्ता युवराज पराजुलीका अनुसार दर्शकदीर्घामा बसेका लामिछानेलाई पक्षका कानुन व्यवसायीले एक कागजमा हस्ताक्षर गराएपछि प्रहरीले सोधपुछ गरेको थियो । सोक्रममा लामिछाने एकाएक आक्रोशित हुनुभएको थियो ।
‘हतियार बोकेर प्रहरी इजलासभित्र किन उपस्थित भएको भन्दै रबि आक्रोशित हुनुभयो । त्यसपछि हतियारधारी प्रहरी इजलासबाहिर निस्किए । पराजुलीका अनुसार रबिले हिरासतमा आफ्नो पक्षका वकिल भेट्नसमेत नदिएर आफूमाथि गैरकानुनी व्यवहार गरिएको व्यहोराको निवेदनमा हस्ताक्षर गर्नुभएको रहेछ । जुन पछि न्यायाधीशलाई बुझाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्