काठमाडौं, कार्तिक २१। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकोले एक्लै चुनाव लडने बताउनुभयो ।
‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ, हामी एक्लै लड्छौँ, चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ’, उहाँले भन्नुभयो ।
अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरका र भए पनि चुनाव भने दुवै पार्टी अलग अलग लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’, उहाँले भन्नुभयो ।
राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो । यो भूमिका निर्वाह गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिएका र उभिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुङ्गो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।
बैठकले काठमाडौंमा उपनिर्वाचन लड्ने उम्मेदवारको पनि टुङ्गो लगाएको छ । जस अनुसार कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्