जनता टाइम्स

५ माघ २०८१, शनिबार २१:५१

कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण, निधारमा लाग्यो चोट


झापा, माघ ५ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रम सकेर फर्कने क्रममा पूर्वमुख्यमन्त्री थापामाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उहाँको निधारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै जना नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।

बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेको प्रहरीले जनाएको छ । निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ ।

आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किनुभएको छ । प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो ।