जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार १०:३०

मध्यरातमा यसरी लुटिएका थिए वृद्ध दम्पती 


रामेछाप । सुनापति गाउँपालिका–२ सुरसम्बा टोलका ७० वर्षीय सानोकान्छा तामाङको घरमा दुई बुढाबुढी मात्रै थिए ।

घरमा आरु कोही थिएन । ७० वर्षका सानोकान्छा र ६५ वर्षकी श्रीमती सानुकान्छी तामाङ ।

घरमा दुई बुढाबुढी मात्रै, समसाँझै तातो पकायो, खायो । दुई बुढाबुढी खुत्रुक्क सुत्यो ।

गएको बैशाख २९ गते साँझ पनि त्यही पुरानै रुटिन दोहोरियो । सानोकान्छाका बुढाबुढी साँझमा पकाए, खाएर सुते ।

छिमेकीलाई अर्को छिमेकीले के खान्छन्, कस्तो लगाउँछन्, घरमा के कहाँ छ, उनीहरू कता सुत्छन्, के कुरा कता राख्छन् भन्ने सामान्य जानकारी हुनु स्वाभाविक नै हो । छिमेकी भएकोले त्यो आधारभूत जानकारी पेम्बा भन्ने प्रेमबहादुर तामाङलाई पनि थियो । अझ नियत नै खराब राखेपछि थप जानकारी हुनु स्वाभाविक नै हो ।

सानुकान्छीले कानमा लगाएका सुनको रिङमा पेम्बाको आँखा परेको रहेछ । बुढी मान्छेले कानमा लगाएको रिङ लुट्ने पाप उनमा पलाएको रहेछ । त्यैले पूर्व तयारी सहित रिङ लुट्ने योजना पेम्बाले बनाएका रहेछन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार बैशाख २९ गते राति अन्दाजी ११ः४५ बजे अपरिचित भेषमा पेम्बा सानोकान्छोको घरमा जान्छन् । सबैभन्दा पहिला बिजुलीबत्तिको मेनस्विच अफ गर्छन् । त्यस पछि घर अन्धकार हुन्छ । अनि सुरु हुन्छ उनको लुटपाटको धन्दा ।

मेनस्विच बन्द गरेपछि पेम्बा दुई बुढाबुढी सुतेको कोठामा प्रवेश गरे । दिउसो काम गरेर थाकेका बुढाबुढी मध्यरातमा मस्त निन्द्रामा थिए । मध्यरातमा कोही कोठामा छिर्ला भन्ने उनीहरूले अनुमान समेत गरेका थिएनन् ।

कोठामा छिरेका पेम्बाले दुवै बुढाबुढी माथि कुटपिट गरे ३८ वर्षको लक्कजवानको अगाडि बूढाबूढीको के लाग्नु । कुटपिटबाट दुवै बुढाबुढी घाइते भए ।

दुवैलाई घाइते बनाएपछि पेम्बाले सानुकान्छीले लगाएको सुनको रिङ कानबाटै लुछेर लिएर हिँडे । सानुकान्छाको पनि निधार र कानमा चोट लाग्यो । दुवै बुढाबुढी रगतले लफक्कै भिजे । उनीहरूलाई सो रात कालरात्री जस्तो भयो । सानोकान्छीले लगाएको करिब ७५ लाख तौल भएको सुनको रिङ लुटियो ।

भोलिपल्ट प्रहरीमा उजुरी पर्‍यो । गहना डकैती गरी कुटपिट समेत गरेर लगेको भनि प्रहरीमा निवेदन पर्‍यो । जिल्ल प्रहरी कार्यालय रामेछापबाट  अनुसन्धान टोली सुनापति पुग्यो ।

पेम्बाको घर कोठामा प्रहरीले खन तलासी लियो । ‘खानतलासीको क्रममा सुनको उक्त बेरुवा रिङ थान २ निजको घरको माथिल्लो तलामा ढुङ्गा माटोको गारोको चेपमा चक्का छाप सुपर पावर खैनीको प्याकेटमा लुकाइ छिपाई राखेको अवस्थामा जेठ २ गते फेला पर्‍यो’, जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी न्यौपानेले भन्नुभयो ।

पेम्बालाई पक्राउ गरी जिल्ला अदालत रामेछापबाट डाँका चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको न्यौपानेले बताउनुभयो ।

डकैतीमा संलग्न पेम्बा वाइसिएलको कार्यकर्ता भएको बुझिएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा समेत उनले वाइसिएलको टिसर्ट लगाएका छन् ।

ilovepdf_pages-to-jpg