जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार १२:१८

नेपाली महिला टोली विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश 


काठमाडौं, ५ जेठ । महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपाल पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै छनोटमा प्रवेश गरेको हो । नेपाल शीर्ष दुईमा पर्दै छनोट चरणमा प्रवेश गरेको छ ।

युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको छ ।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान  गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

नेपालका लागि मनीषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाएका थिए ।

नेपालले अब सुपर–३ को दोस्रो खेल मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।