काठमाडौं, ५ जेठ। प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को गरिमा र औचित्य माथि आँच आउने अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै बर्तौलाले संसदमा सबैभन्दा बढी बोल्ने सांसदहरूले नै संसद्को गरिमामा आँच आउने गरी संसद् निरस भयो, यसको काम छैन भन्ने जस्ता अभिव्यक्ति दिएका भन्दै आपत्ति जनाउनुभयो । ‘संसद्को तेजोवध गर्ने गरी अभिव्यक्ति आएको हामी पाउँछौँ, सबैभन्दा बढी बोल्ने सांसदबाटै हामी यो देख्छौँ– संसद् निरस भयो, अर्थहीन भयो, यसको सान्दर्भिकता नभएको ठाउँबाट यस्ता विचार अभिव्यक्तिहरू प्रस्तुतिहरू सो संसदमा भएको हामीले देखिरहेका छौँ’, बर्तौलाले भन्नुभयो ।
प्रायोजित ढङ्गले राज्यका महत्त्वपूर्ण अङ्ग माथि नागरिकको भरोसा टुटाउने र कमजोर बनाउने काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो । संसद्को समग्र प्रभावकारितामा सबै राजनीतिक दल र सांसदहरू जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफू सरकारमा नभएका कारण देश विकास र समृद्धिको बाटोमा जान सकेन । कांग्रेस र एमालले देश बरबाद बनाए भन्ने खालका भ्रम फिँजाइएकोमा पनि उहाँले आपत्ति जनाउनुभयो । हामी भइदिएको भए कायापलट गर्थ्यौँ तर अहिलेको सरकारले केही गरेर भनेर भ्रम फिँजाउने प्रयास गरिएको उहाँले बताउनुभयो । ‘यो निराशाको सञ्चार लगातार सांसदबाट भइरहेको पाउँछौँ, उहाँहरू सरकारमा हुँदा के गर्नुभयो तथ्य तथ्याङ्क छर्लङ्ङ छ’, बर्तौलाले भन्नुभयो ।
अहिलेको सरकाले निराशालाई चिरेर आशामा परिणत गर्ने, गतिहीनतामा रहेको अर्थतन्त्रलाई गतिशीलतामा ल्याउनको लागि निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो । तर नागरिकबाट सहानुभूति पाउनको लागि लगातार सरकार र संसद् विरुद्ध प्रहार गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
संसदमा जादुगरहरू देखिन लागेका भन्दै उहाँले त्यो जादुगरी सत्य नहुने बताउनुभयो । ‘हामी गाउँघरमा देख्छौँ, जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ तर, त्यो सत्य होइन, त्यो केवल भ्रम हो, सो संसद्मा पनि यस्ता प्रवृत्तिहरू हामी देखिरहेका छौँ, संसदमा पनि जादुगरले पैसाको नोट निकालेजस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, यस विषयमा सिङ्गो देश सचेत हुनु पर्दछ’, उहाँले भन्नुभयो ।
सांसदले विकासको रकम आफ्नो हिसाबले खर्च गर्न खोजे भन्ने भ्रम फिँजाउन खोजिएको उहाँले बताउनुभयो । सांसदहरूले नागरिकका समस्यालाई बजेट मार्फत जोड्ने प्रयास मात्रै गर्ने बताउँदै विकास बजेटमा सांसदहरूको प्रत्यक्ष सहभागिता नहुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले राज्यले सञ्चालन गरेका सामाजिक सुरक्षाका कार्यक्रममा पुनर्विचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले यस्ता कार्यक्रमलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत अघि बढाउनु पर्ने उहाँले सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्