काठमाडौं, ५ जेठ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आउने २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत ल्याउने बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री सबैले मिलेर लाग्ने हो भने एमालेलाई एकल बहुमत ल्याउन असजिलो नभएको बताउनुभयो । उहाँले यसका लागि सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । ‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ’, ओलीले भन्नुभयो ।
ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु पर्ने बताउनुभयो । ‘हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि काम गरिरहेका छौँ, अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन्, विपक्षीहरूले जनतामा हाम्रा विरुद्ध भ्रम फिँजाउन खोजेका छन्, त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।
महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्