काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सर्वाधिक महत्वको दिन भएको बताउनु भएको छ ।
जहानियाँ राणा शासनविरुद्ध जीवन उत्सर्ग गरेर शहीदहरूले प्रजातन्त्र स्थापना गराएकोले आज (फागुन ७) को दिनको विशेष महत्त्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री आलीले आजको दिन रैतीबाट जनता भएको दिन उल्लेख गर्नुभएको छ । ‘फागुन ७ गते, आजको दिन–हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याको दिन हो, गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शहीद हुनुहुने प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ‘जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्