जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार १०:५२

सोसल मिडियामा अफवाह फैलिएपछि प्रतिवादमा उत्रिए मह जोडी


काठमाडौं, फागुन ८ । बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नै सोसल मिडियामा भएको दूरुपयोगको शिकार बन्नुभएको छ । सामाजिक सञ्जालमा आफहरूबिरुद्ध आपत्तिजनक आक्षेप लगाएको भन्दै बरिष्ठ कलाकारद्वयले प्रतिवाद गरेपछि यो तथ्य उजागर भएको हो । उहाँहरुले सामाजिक सञ्जालमा आफूमाथि लगाइएको आरोप आधारहीन भएको बताउनु भएको छ ।

बिहीबार बिहान सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै उहाँहरूले आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ । ’केही जमातले मह जोडीले यूएसएडको पैसा खाएर धर्म विरोधी काम गर्यो भन्ने सुनियो, यो अनरगल प्रचार हो,’ आरोपको खण्डन गर्दै मह जोडीले भन्नुभयो ।

उहाँहरूले अफवाहको भ्रममा नपर्न र आफूहरूले कुनै पनि गलत काम नगरेको प्रष्ट पार्नुभएको छ । ’हामीले गलत गरेका छैनौँ । हामी सबैलाई आफ्नो हितैसी सम्झिन्छौँ। आफ्नो हितैसीले नै यस्तो आरोप लगाएपछि चित्त दुखेको छ,’ बरिष्ठ हाँस्य कलाकार श्रेष्ठले भन्नुभयो, ’संसारमा राम्रा कुराहरू पनि छन् नराम्रा कुराहरू पनि यस कारण हामीले राम्रा कुराहरू मात्र छानेर काम गर्दै आएका छौँ ।’

उहाँले अगाडि भन्नुभएको छ, ’यूएसएआईडीको सहयोगमा कुष्ठरोग, स्त्री रोग, पोलियो थोपा खुवाउन, खोप दिने कार्यक्रमलगायतका काम भएका छन । हाम्रा सबै टेलिफिल्महरू हरेर जाँच्नु भए हुन्छ । हामीले नराम्रा केही गरेका छैनौँ ।’

यस्तै बरिष्ठ कलाकार आचार्यले पनि सोही भिडियोमार्फत आफूहरू कुनै पनि धर्म विरोधी नरहेको बताउनु भएको छ । नियोजित रूपमा कोही व्यक्ति विशेष र समूह दुष्प्रचारमा लागिरहेको उहाँको भनाइ छ । यूएसएआईडीको सहयोग लिनु नै गलत हो भन्नु नै सही तर्क नभएको उहाँको भनाइ छ । राम्रो कामका लागि पारदर्शी तरिकाले वैधानिक संस्थाबाट सहयोग लिनु गलत नहुने आचार्यले बताउनु भयो ।

’हामीले पञ्चायतकालमा पनि तत्कालीन व्यवस्थाविरुद्ध व्यंग्य गरेका हौँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ,’ आचार्यले भन्नुभयो, ’केही टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्नु कपोलकल्पित कुरा हो । हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छम ।’

भिडियो सन्देशमार्फत श्रेष्ठ र आचार्यले आफूहरू यस्ता अनरगल प्रचारबाजीले हतोत्साहित नभएर निरन्तर आफ्नो काममा लागिरहने भन्दै सबै नेपालीलाई यी सबै भ्रामक कुराहरूमा विश्वास नगर्न अनुरोध समेत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का गतिविधि रोक्नुका सम्बन्धमा सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द नेसन’ कार्यक्रममा मास्टले ‘नास्तिकता’ फैलाउन नेपालसहित कुन देशमा कति खर्च गरिएको थियो भनेर सार्वजनिक गरेका थिए ।

सो समाचार आएपछि सामाजिक सञ्जालमा कुन संस्थाले यूएसएआईडीमार्फत कति पैसा लिए भनेर विभिन्न व्यक्तिले सार्वजनिक गरिरहेका छन्। यूएसएआईडीमार्फत पैसा लिने संस्थाहरूको सूचीमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संस्था मह सञ्चार पनि छ ।

मह सञ्चारले टेलिसिरयल बनाउन यूएसएआईडीमार्फत पैसा लिएर हिन्दु धर्मविरोधी गतिविधि गरेको आरोप हरिवंश र मदनकृष्णलाई लागेको छ ।