जनता टाइम्स

४ बैशाख २०८२, बिहीबार १०:१०

मधेश प्रदेशका पूर्वप्रमुखबिरुद्ध पक्राउ पुर्जी जारी, जवर्जस्ती करणीको आरोप


काठमाडौं, बैशाख ४ । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार एक युवतीको जाहेरीका आधारमा अनुसन्धान जारी रहेकोले अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।जाहेरवाला पक्षको दाबी पुष्टि हुने कि नहुने भन्ने बिषय अनुसन्धानपछि मात्रै यकिन हुने एसपी बोहोराले बताउनु भयो ।

जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक युवतीलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित युवती पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन ।

ती युवतीले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीको महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो । सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको थियो ।

प्रहरीले जाहेरवाला युवतीको नाम परिवर्तित गरी २६ परिसर ३२ (०८१–०८२) राखेको छ । सो जाहेरीको आधारमा प्रहरीले पक्राउका लागि अदालतसँग अनुमति मागेको हो । पत्रकार अहिराज मधेशवादी अभियन्ता पनि हुनुहुन्छ । पक्राउ पुर्जी जारी भएपछि अहिराज फरार रहेको प्रहरीले जनाएको छ ।