जनता टाइम्स

५ बैशाख २०८२, शुक्रबार २०:४७

तोकेको समयभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं, बैशाख ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट जनाउ दिनुभएको छ ।

सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पार्नुभएको हो ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उहाँले फेसबुकलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको पनि स्पष्ट पार्नुभएको छ ।

त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताउनु भयो । शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान विपरीतको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उहाँले त्यसमा संलग्न सबैलाई कारबाही हुने बताउनु भयो । मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको पनि उहाँले बताउनु भयो ।

सञ्चारमन्त्री गुरुङले प्रविधिको दुरुपयोग गरी मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाई रोक्न लागिपरेको जानकारी पनि दिनुभयो । कार्यक्रममा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई प्रदान गरिएको थियो ।

त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई प्रदान गरिएको छ भने स्व. उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ ।