जनता टाइम्स

६ बैशाख २०८२, शनिबार १६:५५

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।  शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताए । मन्त्री पाण्डेले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताए । महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भूमिका उपयुक्त हुने बताए । उनले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘महिला उद्यमशीलताको विषय  निकै सम्भावना र चुनौति बोकेको विषय हो । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने मानिसहरु विदेश पलायन भइरहेको अवस्था संख्यात्मक दृष्टिकोणबाट पनि पुरुषहरु विदेश पलायन भएको गाउँहरु रित्तो भएको अवस्था छ । रित्तो भएको सन्दर्भमा पनि गाउँमा महिलाहरु हुनुहुन्छ । ७० प्रतिशत महिला हुनुहुन्छ । महिलाहरु देशभित्र हुनुहुन्छ । महिला उद्यमशीलता नै महत्वपूर्ण यतिखेरका लागि अर्थतन्त्रको आधार हुनसक्छ पर्यटन क्षेत्रमा महत्वपूर्ण रणनीति हुनसक्छ ।’ उनले भने, ‘यो विषयलाई छलफलको विषयमा राख्नुपर्छ । महिला उद्यमशीलता त्यो पनि पर्यटन क्षेत्रमा कसरी सम्भावना छ र चुनौतीका कुराहरु हामीले प्रत्येक छलफलमा एउटा खण्डा यो राख्यो भने समस्या उजागर हुन्छ र समाधान पनि निस्किन्छ ।  हामीलाई रोडम्याप पनि क्लियर हुन्छ । नीतिमा कानूनमा बजेट र योजनामा के गर्ने भन्ने कुरामा म गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबिच विश्वासको संकट उत्पन्न भएको समेत बताए । उनले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘पर्यटनमा महिला भन्न विषय चाहीँ राम्रो गरी प्रस्तुत भयो । तर यसमा डिजिटल युग र यसको उपयोग गर्ने सन्दर्भमा कम छलफल भयो जस्तो लाग्यो । किन कि यो डिजिटल युगले हामीलाई धेरै सहज बनाएको छ । होटलहरु बुक अनलाइनबाट हुने गर्छन् । होटलको सुविधा पनि हेर्छ, खर्च पनि हेर्छ । एकै बिन्दुबाट सेवा लिने र दिने इगभर्नेन्सको पनि हामीले कुरा गरी रहेका छौँ । यो सन्दर्भमा पनि हामीले डिजिटल युगलाई अधिकतम उपयोग गर्नुपर्छ । मेरो यो बीचको अनुभव चाहीँ निजामति प्रशासन र निजी क्षेत्रमा राम्रो विश्वासको वातावराण भयो भने अगाडि बढ्न सकिन्छ । अहिले त्यो विश्वासको वातावरण छैन । सरकार भनेको जनप्रतिनिधि प्रशासनसँग फसाइ दिन्छ कि भनेर डराउने र निजी क्षेत्र पनि अल्झिने भएपछि विश्वास भत्किएको छ । यो निर्माणमा तत्परताका साथ लाग्नुपर्छ ।’ मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रियामा सरकार रहेको बताए ।