जनता टाइम्स

६ बैशाख २०८२, शनिबार १८:३३

परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै


काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भोलि थाइल्याण्डको बैंकक जाँदै छिन् । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । उनीहरू यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।