काठमाडौं, बैशाख ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको भन्दै त्यसलाई कदापी सफल हुन नदिइने बताउनु भएको छ ।
नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उहाँले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताउनु भयो । नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले विभिन्न कारणले संविधान जारी हुनेबेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहास, भाषा, संस्कृतिमा र उत्पादनमा समेत रहेका बताउनुभयो । उहाँले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको धारणा राख्नुभयो ।
‘नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै सङ्घर्ष गर्नुपरेको थियो,’ पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, ‘नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् मेरै नेतृत्वमा घोषणा भयो । नेपाल भाषालाई सरकारी दस्ताबेजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय भयो । हाम्रै सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।’
उहाँले नेवार समुदायको चाहना, संस्कृति, भाषा, इतिहास, आत्मनिर्णयको अधिकार र इतिहास हराउन नदिन माओवादी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्